तन नै रन्थनिने चिसो बतास,
सपना निमोठिएका काला रात
जताततै हुर्केको सन्त्रास
हिसाब बिहिन अन्तर घात !
हो, यहि हो,
यो सहरको परिचय
हराएको आफ्नो लय,
कुरुप अवतार,
मन देखि मन सम्मै
तिखा काँडे तार
न कसैको माया,
न छ यहाँ आड भरोशा
उजाडिएका शितल छायाँ
छरपस्ट छरिएका ‘जीवित लाश’
फगत एउटा चाल,
सतरंजका गोटी
कसै बाट चालिएका,
कसै बाट फालिएका
आफ्नो पालो कुरी बस्ने,
‘प्रभु’ दाहिने पार्न भनि
दस माना तेल घसी बस्ने,
झ्यालीहरुको लहर
कायर झुण्डको घर
हो, यहि हो
मुर्कट्टाहरुको सहर
मृतप्राय हाँस्ने रहर,
बाँच्नलाई कहर,
यहाँ पैसा संग लाश साटिन्छ
यहाँ निर्धनको गास काटिन्छ
लड्ने लडि रहने,
कुद्ने कुदि रहने
यसै गरि संसार चलि रहने
बालख कालमा सुने जस्तै--
टाउको अगाडी फ़र्केको
खुट्टा पछाडी फर्केको
एउटा मात्र आँखा भएको
मुर्कट्टा जस्तै।
यो सहर म देख्छु उस्तै
हो, यहि हो
मुर्कट्टाहरुको सहर
मृतप्राय हाँस्ने रहर,
बाँच्नलाई कहर।
भवतु सब्ब मङ्गलम !
ईति: २१ जुन २०१६
दुराम विश्वविद्यालय, संयुक्त अधिराज्य
0 Comments