नाउडाँडा: सुन्दर कि कुरुप?

म पछिल्लो समय जनस्वास्थ्य (public health) बाट भूगोलको (geography) विद्यार्थी भएको छु। भूगोल अथाह रैछ, यसमा भौतिक (physical geography) मात्रै हैन, अभौतिक या मानव भूगोल (human geography) झन् महत्वपूर्ण बिषय रहेछ। बिगत सात वर्ष देखि यहि विषयका अनेक सिद्धान्त र प्रयोग बारे अध्ययन अनि अनुसन्धान गर्दैछु। मेरो मुख्य रुचि भनेको नै हामी वरपर भएको भूगोलले हाम्रो स्वास्थ्यमा कस्तो असर अनि प्रभाव पार्छ भन्ने बुझ्नु हो। समय अनि परिस्थितिले साथ दियो भने कुनै समयमा नेपाली परिवेशमा यस सम्बन्धि पुस्तक नै लेखौंला भन्ने सपना छ। तर अहिले लाइ तातोतातो विषयबस्तु तिर लाग्छु है त।

तस्बिर १ अहिलेको नाउडाँडा

केहि दिन देखि फेसबुकमा कास्की, नाउडाँडा (मेरो जन्मथलो) को एउटा लगभग ताजा तस्बिर देखि राखेको छु (हेर्नुस तस्बिर १)। सबैले लेख्दै छन् आहा कति राम्रो तस्बिर। जसको जरा त्यहि ठाउँमा छ, उसलाई राम्रो लाग्नु स्वाभाविक हो, मलाई पनि आफ्नोपनको झल्को दियो। अन्य स्थानका जो कोहिलाई यो तस्बिरले केहि पनि लोभ्याउदैन । मेरो एक जना विदेशी साथीलाई तस्बिर देखाएर सोधें उनको अनुभव, उनले यसमा कुनै सुन्दरता नै देखिनन्, आशातित जवाफ। फेरी मैले अर्को तस्बिर देखाएँ लगभग उही कोर्ण तर फरक समयको (हेर्नुस् तस्बिर २)। उनले त्यसलाई खुब रुचाइन। तेस्रो पटक अलि फरक कोर्ण को तस्विर देखाएँ जहाँ नाउडाँडा, धम्पुस, मराम्चे अनि हिमाल सबै समेटिएको थियो। यो तस्बिर पनि बेजोड मन पर्यो रे मेरो साथीलाई, कारण सोधेँ, यता (नाउडाँडामा) भएको योजना बिहिन देखिने विकाशलाई प्राकृतिक सुन्दरताले ओझेलमा पर्यो रे। हुनत सुन्दरता भन्ने चिज व्यक्तिपरक हुन्छ, व्यक्ति पिच्छे हेर्ने नजर फरक पर्न सक्छ ।

तस्बिर २: १९८० को दशक अगाडीको नाउडाँडा


अर्को कोर्ण बाट

अब अलिकति स्वास्थ्य र भूगोल (health geography) को कोर्ण बाट हेरौँ न त। विभिन्न अनुसन्धानले देखाएको तथ्य नै यो हो कि स्वास्थ्य सेवा या त्यसको पहुँचले त्यस स्थानमा रहने नागरिकको स्वास्थ्यमा जम्माजम्मी १० प्रतिशत मात्रै योगदान गर्छ, अरु त सबै बृहत बातावरणको भूमिका हुने गर्दछ। अब हाम्रो नाउडाँडा हेरौँ त बृहत वातावरण कस्तो बनेको छ। प्राकृतिक रूपमा सुन्दर स्थानमा छौँ, त्यो भनिरहनु परेन। भौतिक विकासको मामिलामा भने हामी सारै नराम्रो सँग चुक्दै गएको छौँ। बिगत दुई दशकको अन्तरालमा भएका धेरै जसो विकासका कार्यहरु दिगो छैनन् अनि यिनको मानव र प्राकृतिक प्रभाव धेरै नै नकारात्मक छन्। अव्यवस्थित अनि अवैज्ञानिक बाटाघाटाले प्राकृतिक बिपत्ति निम्त्याएकै छ । मुख्य बाटोको वरपरको भौतिक अवस्थाले अनि (सवारी) दुर्घटनाको कारण प्रत्यक वर्ष कतिको जिउधनको खति भएकै छ।


तस्बिर ३: नाउडाँडामा नवनिर्मित टावर


मलाई अहिले लाग्दै छ, हामीले हाम्रो ठाउँलाई कुरुप बनायौँ, अव्यवस्थित रूपमा वस्ति विकाश गर्यौं। एउटै उदाहरण काफी छ, डाँडाको टुप्पामा गएर टावर बनायौं (हेर्नुस् तस्बिर ३)। म जस्तै धेरै जना विदेश छिर्यौं, अलि अलि आर्थिक विकास भयो, हाम्रो पारम्पारिक वस्तिलाई सिमेन्टको जङ्गल बनायौं, खुल्ला स्थान लगभग सबै मास्यौं। खुल्ला स्थान अनि त्यसको सहज पहुचले स्वास्थ्यमा अतुलनिय योगदान गर्दछ, त्यो हामीले बुझ्दै बुझेनौं। गाउँको आर्थिक विकास भयेकोछ त्यसमा दुई मत रहेन, सामाजिक बिकासमा भने ठूलो खाडल छोड्यौं। यो भनिरहँदा म विकाशको बिरोधि हैन है, विकासको नाममा विनाश गर्यौं भन्न खोजेको मात्रै हो। विकास अर्कै ढाँचामा गर्न सकिन्थ्यो, मैले खोजिन, तपाइले खोज्नु भएन, कसैले खोजेनन्। अहिले आँखामा बिझाउने तस्विरलाई “आहा” भन्नु पर्दै छ। हामीलाई गाउँपालिका नभएर नगरपालिका भैदिएको भए हुन्थ्यो भन्ने खुब ठुलो गुनासो राख्दैमा फुर्सद छैन ।


-7th October 2020, Glasgow, UK

Post a Comment

0 Comments