कस्तो संयोग फेरी पनि नौडाँडाको बारेमा लेख्ने खुराक भेटियो। पहिले जस्तै अहिले पनि दुई तस्विरकै बारेमा लेख्दै छु । हिजो देखि फेरी दुई तस्बिर फेसबुकमा घुमिराखेको छन् - एउटा सन् १९७५ ताकाको अनि अर्को हालसालको (हेर्नुस तस्विर १ र २ )। तस्विर ढिकुरपोखरी देखि नौडाँडा हुँदै पूर्व कास्कीकोट सम्मै देखिने गरि लिइएको छ। दुई तस्बिरले इतिहास अनि वर्तमानलाई कति राम्रो संग गाँसेको छ अनि कति अर्थपरक कथा भनिराखेको छन्। आज दिउसो आमा सँग गाउँमा आएको नयाँ लहर (लहड भन्दा उचित हुन्छ) को बारेमा केहि कुरा भयो, त्यो विषय पछि जोड्छु तर पहिले १९७५ देखि २०२१ (४५ वर्ष) को अलिकता समिक्षा गर्न मन लाग्यो।
(सौजन्य कृष्ण अधिकारी को फेसबुक पोस्ट)
गएको ४-५ दशकको अन्तरालमा हाम्रा डाँडा पाखामा ठूलो परिवर्तन आएको छ। धेरै जसो परिवर्तन पोखरा-बाग्लुंग राजमार्गको उपज हुन्, यसमा कसैको दुइमत छैन। निश्चित नै बस्ति विकास (व्यवस्थित/अव्यवस्थित आफ्नै ठाउमा छन्) भएका छन्, सहायक बाटा-घाटा बनेका छन्, गाउँहरु सुगम बनेका छन्, आर्थिक बिकल्प पनि थपिएका छन्। साथ साथै सामाजिक विकास पनि उल्लेख्य मात्रामा भएको छ। महत्वपूर्ण तर धेरैले त्यति याद नगरेको फरक भनेको नांगा देखिने डाँडाहरु यहि समयमा हरिया हुँदै गएका छन्। फेरी केहि भू-उपग्रह बाट खिचिएका तस्विर पनि दाज्न मन लाग्यो (हेर्नुस तस्विर ३ र ४ ) । प्रस्ट नभए पनि भू-उपग्रह बाट खिचिएको तस्विरले पनि हामी वरपर धेरै हरियाली थपिएको देखाउँछ । वातावारनिय पक्षबाट यो सुखद उपलब्धी हो जसका दुरगामी फाइदा छन्। फाइदा अथाह भए पनि बढ्दो बन अनि हरित क्षेत्रका केहि समस्या पनि थपिएका छन्। समस्या नहुने क्षेत्र कम नै होलान तर ति समस्यालाई कसरि समाधान गर्छौं त्यो महत्वपूर्ण पाटो हो, यो लेखको पछिल्लो खण्डमा त्यहि विषय संछिप्त रुपमा खोतल्ने। तर, सुरुवात यो परिवर्तन कसरि सम्भव भयो त्यो हेरौं।
हरियाली बढ्नुमा मुख्यतया चार कारण देख्दछु, पहिलो-समुदायक बनको सुरुवात, दोश्रो-चौपायाको अनियन्त्रित चरणमा आएको कमि, तेस्रो खेतबारीका इत्ला कान्लामा हुर्किएका बोट-बिरुवा र अन्त्यमा गाउँमा भएको आर्थिक विकास।
बढ्दो ग्लोबल वार्मिंग (global warming) र मौसम परिवर्तनको सबै भन्दा अचुक समाधान नै बन तथा हरित क्षेत्रको विस्तार नै हो। नेपालको “समुदायक बन” कार्यक्रम संसार भरि नै उदाहरणीय छ, अन्तरास्ट्रिय रुपमा धेरै पुरस्कार अनि सम्मान पाएको छ। गुगलमा यो कार्यक्रमको बारेमा भर्खर खोजेको ३६ लाख बढी नतिजा देखायो, कैयौं पपेर लेखिएका छन् अनि कैयौं पत्रिकाका लेख । हाम्रा वरिपरिका धेरै खाली जमिन यहि अन्तरालमा समुदायक बनका रुपमा विकास भए, समाज एकै ठाउँ आए पछि ठूला परिवर्तन सम्भव मात्रै हैन दिगो पनि हुन्छन् भन्ने बलियो उदाहरण साबित भएको छ। हाम्रो ओख्ले समुदायक बन यसैको एउटा उदाहरण हो। यसमा धेरै गर्व गर्ने ठाउँ छ।
दोश्रो कारण चौपाया पालनको तौर-तरिकामा आएको आमुल परिवर्तन। पहिले जस्तो चरणमा लैजाने चलन हटेको छन्, आजभोली धेरै परिवारले चौपाया नै पाल्न छोडेका छन्, जतिले पालेको छन् बधुवा बनाएर पालेको छन्। म सानो छँदा गोठालो (कम्तिमा पनि शनिबार अनि बिदाको बेला ) गएको सम्झना ताजा नै छ, म भन्दा पछिको पुस्ताले त्यो पनि सायद देख्न पाएनन्। चरणको क्रममा चौपयाले घाँस मात्रै खाँदैनन, साना तिना बोट बिरुवा पनि खान्छन अनि हुर्कन दिदैनन। चरणमा आएको कमिले बोट बिरुवा आफै हुर्कदै गए। यहि अन्तरालमा हाम्रा गाउँ ठाउँमा उत्तिस लगायतका प्रजाति पनि भित्रिए जो छिटो हुर्किने अनि बिस्तार हुने खालका छन्।
तेस्रो खेतबारीका इत्ला कान्लामा हुर्किएका बोट बिरुवा - जुन मुख्यतया डाले घाँस या काठ प्रयोजनका लागि छन्। बस्तीका वरपरी थपिएको हरियालीको जस धेरै हद सम्म यहि कारण हो। मैले पनि केहि दर्जन राइखनियो, तेजपत्ता, चाँप लगायत बिरुवा रोपेर हुर्काएको थिए, धेरै बिरुवाले अझै घाँस दाउरा दिइराखेको छन्। घर वरपर फलफूलका रुख रोप्ने लहर भने त्यति चलेन यो समयमा।
चौथो कारण भनेको गाउँमा भएको सामाजिक अनि आर्थिक विकासलाई मान्नु पर्छ। धेरै परिवारको आर्थिक हैसियत थपिएको छ, स्वदेश होस् या विदेशबाट घरमा रकम भित्रिए पछि हामीहरुको घरमा प्रयोग हुने इन्धनमा परिवर्तन आएको छ, पहिले दाउरामा मात्रै भर पर्नु पर्ने अहिले धेरैको चुल्हो ग्यास (गोबर ग्यास होस् या पेट्रोलियम ग्यास)ले चल्छन। साथसाथै गाउँ बाट बसाइ सराइ गरि सहर पस्ने अनि गाउँको जमिन खाली छोड्ने प्रबृत्ति पनि बढेको छ, जसको कारण रुख बिरुवा हुर्किदै गएका छन्। यसको प्रत्यक्ष प्रभाव बनको घट्दो दोहन अनि घट्दो आश्रय नै हो।
गाउँमा आएको नयाँ लहर (लहड):
बढेको हरियालीको समस्या भनेको जंगली जनावर संग मानवको बढ्दो टकराव। हुनत हामी मानवले नै हो जनावरको वस्ती खोसेको, उनीहरु संग मिलेर बस्न सक्नु पर्ने हो, सक्दैनौं! तराइका वस्तीमा जस्तो हात्ती, गैंडा जस्ता ठूला जनावरको समस्या नभए पनि बाँदर लगायत साना जनावरले धेरै समस्या थपेको छन्। यो नौडाँडा वरपरको मात्रै समस्या हैन, देश भरि नै देखिएको समस्या हो, यसको निकास बैज्ञानिक तरिकाले खोजिनु पर्छ।
यहि सँग सँगै अब हाम्रो गाउँमा आएको नया लहडको चर्चा गरौँ। गाउँमा अहिले बारीमा हुर्किएका रुख काट्ने पश्चगामी लहड चलेको रैछ। गाउँका प्रतिनिधिले मौन समर्थन गरेका छन्, बारीको रुख काट्दै हिड्ने व्यक्तिहरु प्रत्यक घरधुरीले १००० रुपैया दिने उर्दी निकालेका छन्। ति व्यक्ति ‘जबर्जस्ती’ अरुको जमिनमा पसेका छन्, घरका सदस्य संग केहि सरसल्लाह नगरी सबै बोट-बिरुवा ढाल्दै हिडेका छन्, यो कस्तो ‘जंगली’ पारा हो ?
मैले रोपेका अनि केहि म संगै हुर्किएका रुख पनि काटिदिएछन, कस्तो दुख लाग्दो। हेर्नुस् त तलका केहि तस्विर, कसरि सकेको होलान यस्तो बिनाश गर्न। मेरा हजुरबुवाले रोपेको अनि मेरा बुवाको भन्दा बढी उमेर बाँचेको रुखको हालत। यसको पनि बोली हुँदोहो त चिच्याएर भन्दो हो नि मैले तिमीहरुको के नै बिगार गरेको थिएँ र, तिमीहरुलाई प्राण भर्ने ‘गल्ति’ बाहेक। ओसेप पारेको थियो त हामीहरुकै जमिन। चुलेत्रो काँडाले गर्दा हामीलाई चढ्न कति मुस्किल, बाँदरलाई पनि त उही समस्या हुने थियो होला, हातमा आरो भएका “बाँदर” बाट बच्न सकेनछ।
बाँदरले सतायो भनेर वर्षौं लागेर हुर्किएका वरपरका रुख काट्नु कति छोटो दृष्टि होला। वस्तीको छेउमै हाम्रो त्यति ठूलो बन छ, बारीका रुख काटेर हुने त केहि हैन खै किन कुरा नबुझेको हुन्। यो त घरमा मुसो पस्यो, सतायो भनेर घरनै जलाएर खरानी बनाए जस्तै भएन र? त्यो भन्दा पनि महत्वपूर्ण कुरा बाँदरले रुख त लुक्न प्रयोग गर्ला नाश गर्ने त बाली-नाली हो, यो मानसिकता हुनेले त खेति नै पो नगर्ने हो कि। हिन्दीमा उखान छ नि “ना रहेगा बाँस, ना बजेगा बाँसुरी”।
एक दुई तस्विर हेरौँ
अन्तमा
संसार भरि नै दिगो विकास अनि हरियाली बढाउन के के गर्न सकिन्छ भनेर विचार बिमर्श चल्दै गर्दा हामी भने केहि पश्चगामी कदम चाल्दै छौँ , समस्याको सहि अनि दिगो विकल्प खोज्नु पर्यो न कि “खरानीको व्यापार” खालको। जनस्वास्थ्य अनि स्वास्थ्य-भूगोलको विद्यार्थी भएको हुँदा बढेको हरियालीको त अपार फाइदा देखेको छु मैले, सामाजिक अनि पर्यावरणीय फाइदा त कति हो कति। दशकौं लगाएर आएको परिवर्तन जोगाउँ।
धन्यवाद
रामजी भण्डारी
ग्लासगो, संयुक्त अधिराज्य
31 January 2021
0 Comments